बुटवलमा तनाव बढेपछि कर्फ्यू
जग्गा कब्जाको विषयलाई लिएर प्रहरी र सर्वसाधारणबीच झडप भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यू लगाइएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नंं १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा सर्वसाधारणले जग्गा कब्जा गरेर टहरा बनाउन खोजेका थिए। टहरा बनाउन खोज्ने सर्वसाधारण र प्रहरीबीच दिउँसो झडप भएको थियो।
झडपका क्रममा गोली समेत चलेको थियो। झडपमा ६ जना घाइते भएका छन्।
तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार अपराह्न ४ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म कर्फ्यू लगाएको हो। स्थिति नियन्त्रण बाहिर जानसक्ने जोखिम बढेकाले कर्फ्यू घोषणा गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीले जनाएका छन्।
प्रमुख जिल्ला अधिकारी तिवारीले जारी गरेको आदेशमा भनिएको छ, “जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबूत बनाई आएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको अवस्था समेत जोखिममा पर्न सक्ने देखिएकाले शान्ति सुरक्षालाई मजबूत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ।”