दाइले राजीनामा दिएकै दिन भाइले लिए मन्त्रीको शपथ
संघीय सरकारको मन्त्रीबाट दाइले राजीनामा दिएकै दिन लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा भाइले शपथ लिएका छन्।
दुई दिन अघि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गजेन्द्रबहादुर हमालले आइतबार पदबाट राजीनामा दिएका छन्। आइतबार बिहान हमालले राजीनामा दिए भने साँझ लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा उनका भाइ सुरेन्द्रबहादुर हमालले शपथ लिएका हुन्।
गजेन्द्रबहादुरलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री नियुक्त गरेका थिए। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग जोडर आलोचना भएपछि उनले आइतबार बिहान राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।
उनका भाइ सुरेन्द्रबहादुरलाई लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसीले मन्त्री नियुक्त गरेका हुन्। आइतबार साँझ आयोजित विशेष समारोहमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन्। उनी बाँके २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
उनीसँगै लुम्बिनीमा आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री हमाल, शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्री वसीउद्दीन खाँ, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विक रहेका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारू, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले शपथ लिएका छन्।