उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग कांग्रेस प्रतिनिधि मण्डलको भेटवार्ता
भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा कांग्रेस सहमहामन्त्री एवं पूर्व विदेश मन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोली भारत भ्रमणमा छ। शनिबार कांग्रेसको प्रतिनिधि मण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँगको भेटवार्तामा दुई देशको हितका विषयमा छलफल भएको जनाएको छ।
दुई देशको सम्बन्धलाई जनस्तरमा मजबूत बनाउने विषयमा छलफल भएको प्रतिनिधि मण्डलका सदस्य उदयशम्शेर राणाले बताए। यससँगै आपसी सहयोगका विषयमा छलफल भएको उनले जानकारी दिए।
कांग्रेस प्रतिनिधि मण्डलले शुक्रबार भाजपा अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो। त्यसमा पनि दुई देशको हितका विषयमा छलफल भएको जनाइएको छ।
कांग्रेस प्रतिनिधि मण्डलमा सहमहामन्त्री महत, कांग्रेस नेताद्वय राणा र अजय चौरसिया छन्। प्रतिनिधि मण्डलले भाजपाका शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने जनाएको छ।