एकीकृत समाजवादीले थप्यो उपमहासचिव र तीन सचिव
नेकपा (एकीकृत समाजवादी)ले एक उपमहासचिव र तीन सचिव थपेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार बसेको स्थायी कमिटी बैठकले जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिव बनाउने निर्णय गरेको हो।
खतिवडा थपिएसँगै एकीकृत समाजवादीमा चार उपमहासचिव भएका छन्। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वालाले यस अघि नै उपमहासचिवको जिम्मेवारी पाइसकेका छन्। शाह, श्रेष्ठ र विश्वासी थपिएपछि सचिव सङ्ख्या ६ पुगेको छ।
बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको नवनियुक्त उपमहासचिव खतिवडाले जानकारी दिए। उनका अनुसार, सहरी विकास, स्वास्थ्य, श्रम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ।
नेकपा (एमाले) विभाजन भएर बनेको एकीकृत समाजवादीले गत ९ भदौमा निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो।