आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान
विश्व ब्याङ्कले चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने अनुमान गरेको छ।
सरकारले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। तर, विश्व ब्याङ्कले भने आर्थिक वृद्धिदर मध्यमस्तरको मात्रै हुने अनुमान गरेको हो।
ब्याङ्कको दक्षिणएशिया आर्थिक फोकस रिपोर्टका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित भएको थियो। यद्यपि, सरकारी निकायहरूले भने आर्थिक वृद्धिको तथ्याङ्क सार्वजनिक गरेका छैनन्।
केन्द्रीय तथ्याङ्क विभागले ४.१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरे पनि अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको छैन।
कोरोनाभाइरस महामारीको प्रभाव अर्थतन्त्रमा गहिरोसँग पर्दा नेपालको अर्थतन्त्र महामारी पूर्वको अवस्थामा आउन नसकेको देखिएको छ। महामारी शुरू हुनुभन्दा अगाडि तीन आर्थिक वर्षमा नेपालले लगातार वार्षिक औसतमा ७.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो।
तर, महामारीको प्रभावका कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र २.१ प्रतिशतमा खुम्चिएको थियो। आर्थिक वृद्धिदर नकारात्मक भएको यो ४० वर्षपछि थियो। गत आर्थिक वर्ष २०७७/७८ मा पनि आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित हुनुले करीब दुई वर्ष देशको अर्थतन्त्रको विस्तार हुन नसकेको देखाउँछ।
विश्व ब्याङ्कले खोपको पहुँच विस्तारसँगै पर्यटन सहितका आर्थिक क्रियाकलापको विस्तार हुने अनुमान पनि गरेको छ।