अँध्यारोमा लुकेर बसेको थिएँ, मदन पुरस्कारले उज्यालोमा ल्याइदियो : नृत्यशास्त्री थापा
जगदम्बा-श्री सम्मानबाट सम्मानित हुन लागेका नृत्यशास्त्री भैरवबहादुर थापाले आफूलाई मदन पुरस्कार गुठीले अँध्यारोबाट उज्यालोमा ल्याएको बताएका छन्।
बिहीबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले थापालाई २०७७ सालको जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ। सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेकाले उनलाई सम्मान गर्ने निर्णय भएको गुठीले जनाएको छ।
आफूले खुरुखुरु काम गर्दै आएको र अहिले जगदम्बा-श्री सम्मान पाउने खबर सुन्दा उत्साहित भएको उनले बताए। “म त अँध्यारोमा लुकेर बसेको थिएँ, मदन पुरस्कार गुठीले उज्यालोमा ल्याइदियो,” उनले हिमालखबरसँग भने।
उनले हालसालै नृत्याक्षर विज्ञान पुस्तक पनि लेखेका छन्। उनको पुस्तक पनि मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको थियो।
यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भए पनि पुरस्कार तथा सम्मान पाउने अपेक्षा नगरेको उनको भनाइ छ। आफ्नो काममा मात्रै ध्यान भएको नृत्यशास्त्री थापा बताउँछन्।
नाच्ने तथा गाउने काम गर्दा अपमानित हुने समयदेखि आफूले निरन्तर काम गर्दै आएको उनले बताए। “अहिले पो नाच्ने–गाउनेलाई सम्मान गरिन्छ, उतिवेला त हेलाहोचो हुन्थ्यो,” थापा सम्झिन्छन्।
अहिले जगदम्बा-श्री सम्मान पाउँदा आफ्नो कामको सम्मान भएको महसूस गरेको उनी बताउँछन्। जगदम्बा-श्री सम्मान पाउने खबरले अहिलेसम्म गरेका दु:खकष्ट बिर्साएकाे उनको भनाइ छ।