आर्थिक वर्षको पहिलो महीनाको अर्थतन्त्र : रेमिटेन्स घट्यो, शोधनान्तर स्थिति घाटामा
मुलुकको ध्यान राजनीतिमा तानिएका वेला अर्थतन्त्रको तस्वीर भने चुनौतीपूर्ण देखिएको छ। रेमिटेन्स रकममा कमी, शोधनान्तर र चालू खाता ऋणात्मक, वैदेशिक मुद्राको घट्दो सञ्चिति तथा बढ्दो मूल्यवृद्धिले अर्थतन्त्रलाई अप्ठ्यारो पर्न लागेको सङ्केत गरेको छ।
नेपाल राष्ट्र ब्याङ्कले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन) मा शोधनान्तर स्थिति रु.३८ अर्ब ७५ करोडले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा थियो।
शोधनान्तर स्थितिले देशको भित्रिने र बाहिरिने रकम बीचको अन्तरलाई जनाउँछ। साउनमा देशको चालू खाता पनि रु.४७ अर्ब ९० करोडले नोक्सानमा पुगेको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने धन, रेमिटेन्स स्वाट्टै घट्दा यी सबै परिणाम देखिएका हुन्। साउनमा रेमिटेन्स १८.१ प्रतिशतले ओरालो लागेर रु.७५ अर्ब ९६ करोड मात्रै भित्रिएको छ। कोरोना महामारी उच्च बिन्दुमा पुगेका वेला पनि तुलनात्मक रूपमा धेरै नघटेको रेमिटेन्स साउनमा भने उल्लेख्य रूपमा घटेको छ।
गत वर्षको यही अवधिमा रेमिटेन्स २३ प्रतिशतले बढेको थियो। रेमिटेन्स नेपाली अर्थतन्त्रका लागि टेकोका रूपमा रहँदै आएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा रु.९ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रिएको थियो।
आयातमा खर्च हुने रकम बढ्दै जाने र रेमिटेन्स तथा पर्यटन आय घटेका कारण देशको वैदेशिक मुद्राको सञ्चिति पनि घट्न थालेको छ। रेकर्डस्तरमा पुगेको वैदेशिक मुद्राको सञ्चिति साउनमा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्बमा सीमित भएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ४२ करोड डलर छ। यद्यपि, अहिलेको विदेशी मुद्राको सञ्चिति नेपालका लागि पर्याप्त हो। यो सञ्चितिले ८.३ महीनाको वस्तु तथा सेवाको आयात थेग्न सक्छ।
देशको वैदेशिक व्यापारमा पनि पहिलो महीनादेखि नै पर्याप्त असन्तुलन देखा परिसकेको छ। साउनमा नेपालले रु.२० अर्ब ७६ करोडको वस्तु निर्यात गरेकोमा रु.१ खर्ब ५० अर्ब ७३ करोडको वस्तु आयात गरेको छ। निर्यात अघिल्लो वर्षका तुलनामा ११६ प्रतिशतले बढे पनि आयात पनि करीब ७६ प्रतिशतले बढेकाले व्यापार घाटा फराकिलो हुन पुगेको छ।
पेट्रोलियम पदार्थ, फलामका सामान, कच्चा सोयाबिन तेल, सुन लगायतका वस्तुको आयात साउनमा बढेको छ। गत वर्षको पहिलो महीना साउनमा रु.३५ लाखको मात्र सुन आयात भएकोमा गत साउनमा भने रु.३ अर्ब १७ करोड मूल्य बराबरको आयात भएको छ। साउनमा चाँदीको आयात पनि रु.३ अर्ब १० करोड बराबरको आयात भएको छ। साउनमा चामल मात्रै रु.४ अर्बको आयात भएको छ।
देशको बाह्य क्षेत्र चुनौतीपूर्ण रहेका वेला उपभोक्ता मूल्यवृद्धि पनि उकालो चढ्न थालेको छ। राष्ट्र ब्यांकका अनुसार, साउनमा मूल्यवृद्धि ४.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा मूल्यवृद्धि ३.४९ प्रतिशत थियो। गत आर्थिक वर्षमा औसत वार्षिक मूल्यवृद्धि ३.६ प्रतिशतमा सीमित थियो।
पछिल्ला वर्षहरूमा न्यून रहेको मूल्यवृद्धि यो वर्ष बढ्ने अनुमान गरिएको छ। एशियाली विकास ब्यांकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्षमा नेपालको औसत मूल्यवृद्धि ६ प्रतिशतसम्म पुग्न सक्छ।
साउनमा खाद्य समूहको मूल्य ३.८६ प्रतिशतले बढेको छ। जसमा सबैभन्दा धेरै घ्यू–तेलको मूल्य २९ प्रतिशतले बढेको छ।