यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण
एशियाली विकास ब्यांक (एडीबी)ले चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
कोभिड–१९ महामारीको प्रभाव केही मत्थर भएसँगै यो वर्ष देशको आर्थिक विस्तार मध्यम गतिमा हुने अनुमान एडीबीले सार्वजनिक गरेको हो।
एशियाको आर्थिक विकासको प्रवृत्तिका विषयमा एडीबीले सार्वजनिक गरेको ताजा प्रतिवेदनले गत आर्थिक वर्ष २०७७/७८ मा देशको आर्थिक वृद्धिदर २.३ प्रतिशत भएको आकलन गरेको छ।
यद्यपि, केन्द्रीय तथ्यांक विभागले भने गत आर्थिक वर्षको आर्थिक वृद्धिदर कति भयो भन्ने विषयमा तथ्यांक सार्वजनिक गरिसकेको छैन। एडीबीले गत आर्थिक वर्षमा ३.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। तर, यस अघिको अनुमानभन्दा कम आर्थिक वृद्धि भएको संशाेधित अनुमान छ।
कोरोनाभाइरस महामारीका कारण देशको अर्थतन्त्रमा गहिरो झट्का पुगेको थियो। महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएको थियो।
यो वर्ष चार दशकपछि देशको आर्थिक वृद्धिदर नकारात्मक अवस्थामा पुगेको थियो। महामारी शुरू हुनु अघिका तीन आर्थिक वर्षमा नेपालले औसतमा वार्षिक करीब ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल गरेको थियो।
महामारीको प्रभाव केही मत्थर हुँदै गए पनि यसको असर अर्थतन्त्रमा अझै लामो समयसम्म पर्नसक्ने जोखिम छ। खासगरी, पर्यटन, यातायात लगायतका क्षेत्रमा अझै महामारीको प्रभाव रहने अनुमान छ। एडीबीले चालू आर्थिक वर्षमा मूल्यवृद्धि दर ६ प्रतिशत हुने अनुमान गरेको छ। गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ३.६ प्रतिशतमा सीमित थियो।