धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपका सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलबार सरकारलाई प्रतिवेदन बुझाएको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मा समक्ष बुझाएका हुन्।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानि–नोक्सानी पुर्याई बोर्डको हित र पूँजी बजारको विकास विपरीत हुने गरी पदीय आचरण विपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गर्न सरकारले समिति गठन गरेको थियो। १६ भदौको मन्त्रिपरिषद्ले गठन गरेको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएको थियो।
अध्यक्ष ढुंगानाले सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा खरीद गरेको भेटिएको थियो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए। अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पूँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने मन्त्री शर्माले बताए।
शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकाले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने पनि मन्त्री शर्माले बताए।