माधव नेपाललाई केही भन्दिनँ, तीर्थयात्रामा हिंडेका छन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल बाहेक सबैलाई पुरानै पार्टीमा फर्किन आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई घरमा आगो लगाएर गएको आरोप लगाए। “माधव नेपाल घरमा आगो लगाएर, खरानी घसेर तीर्थयात्रामा हिंडेका मान्छे हुन्। उनलाई केही भन्दिनँ,” अध्यक्ष ओलीले भने, “माधव नेपालले अलमल्याएका कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्दछु।”
एमाले विभाजन भएर नेपालको नेतृत्वमा १ भदौमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ। ९ भदौमा निर्वाचन आयोगले वैधानिकता दिएको एकीकृत समाजवादीमा जनप्रतिनिधि सहित एमाले नेता-कार्यकर्ता लागेका छन्।
नेपालले आफ्नो स्वार्थ पूर्तिका लागि कार्यकर्ताको राजनीतिक भविष्यमाथि खेलबाड गरेको ओलीको आरोप थियो। उनले नेपाल प्रति कटाक्ष गर्दै भने, “माहुरीको पछि लागे फूलमा पुगिन्छ, झिंगाको पछि लागे फूलबारीमा पुगिंदैन।”
अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको पनि आलोचना गरे। दाहालले केही कार्यकर्तालाई भ्रममा राखेको भए पनि एमाले र माओवादी मिलेर अहिलेको एमाले बनेको उनको जिकिर थियो।
“एमाले र माओवादी मिलेर एकीकृत पार्टी भइसकेको छ, केही मान्छेलाई मात्रै प्रचण्डले भ्रममा पारेर राखेका छन्,” ओलीले भने।
उनले आफूलाई बघिनीका रूपमा प्रस्तुत गरे। पार्टीलाई अप्ठ्यारो पर्न नदिने उनको भनाइ थियो। “बघिनी त्यति वेलासम्म चुप लागेर बसेकी हुन्छे, जति वेलासम्म डमरुमाथि खतरा हुँदैन। मैले पनि झप्पु चलाउनुपर्ने हुन्छ, जति वेला पार्टीमाथि खतरा हुन्छ,” ओलीले भने।