दशैंका लागि १ असोजबाट ४३ स्थानमा सुपथ मूल्य पसल
दशैं-तिहार लगायत पर्वका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १ असोजबाट ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
कम्पनीको कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्। सदा झैं यस वर्ष पनि दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।
सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छूट दिने व्यवस्था गरिएको छ। त्यस्तै, भटमासको तेल, मासु र कर्णालीको सिमीमा १० रुपैयाँ छूट दिइने उनले जानकारी दिइन्। जिउँदो खसी र बोकामा पनि प्रति केजी १० रुपैयाँ छूटको व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकामा खाद्य कम्पनीको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने भएको छ।
यस्तै, उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेल्धुरा लगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ।
कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर यस वर्ष पनि च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको कम्पनीले जनाएको छ। गत वर्ष पनि च्याङ्ग्रा ल्याइएको थिएन।
यससँगै साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले पनि आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन्। यी सबै सुपथ मूल्य पसल १ असोजबाट २४ कात्तिकसम्म सञ्चालन हुनेछन्।