एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ५ असोजमा
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक ५ असोजमा काठमाडौंमा बस्ने भएको छ।
नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
पार्टीलाई प्रभावशाली ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बोलाएको जनाएको छ।
अध्यक्ष नेपालको संयोजकत्वमा स्थायी कमिटी गठन गरिएको छ। त्यस्तै, सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग पनि गठन भएका छन्।
अहिले एकीकृत समाजवादीका प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक चलिरहेका छन्। त्यस्तै, युवा तथा विद्यार्थी संगठन स्थापना भइसकेका छन् भने मजदुर संगठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको एकीकृत समाजवादीले जनाएको छ।