पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार–निजी क्षेत्र सहकार्यः वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई लयमा फर्काउन सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी भएको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मंगलबार वरिष्ठ उपाध्यक्ष ढकालले महामारीबाट पर्यटन क्षेत्रमा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताएका हुन्।
पर्यटन क्षेत्रलाई चलायमान बनाउन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने ढकालले धारणा राखे।
“हामीले उद्योग वाणिज्य महासंघको तर्फबाट यो विमानस्थल चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,” ढकालले भने, “पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।”
कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र यस क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखेका छन् ।
ग्लोबल आइएमई ब्यांकका अध्यक्षसमेत रहेका ढकालले ब्यांकका कर्मचारीलाई वार्षिक १५ दिनको बिदामध्ये सात दिन अनिवार्य रुपमा नेपालभित्रै घुम्नुपर्ने व्यवस्था गरेको स्मरण गराए ।
सरकारले ल्याएको बिदा पर्यटन सम्बन्धी कार्यक्रम कार्यान्वयन हुन नसकिरहेका बेला आफ्नो प्रयासले दूरगामी महत्व राख्ने ढकालले दाबी गरे ।