एमसीसीसँग जोडेर अफवाह फैलाउनेलाई कारबाही गर्न साइबर ब्यूरोलाई पत्राचार
मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्न माग गरेको छ।
साइबर ब्यूरोलाई २५ भदौमा पत्राचार गरिएको एमसीए–नेपालले जनाएको छ। एमसीए–नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्ति विरुद्ध कानूनी कारबाही अगाडि बढाउन एमसीए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको छ।”
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्ताक्षर गरेर ‘एमसीसी कम्प्याक्ट अनुमोदनका पक्षमा अभियान’ चलाउन केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने भन्ने झुटो सामग्री तयार पार्नेलाई एमसीए–नेपालले कारबाहीको माग गरेको हो।
योजनाबद्ध रूपमा सञ्चारकर्मी, सञ्चारमाध्यम र एमसीसीलाई बदनाम गर्ने उद्देश्यसहित अफवाह फैलाउनेले नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको समेत दुरुपयोग गरेको देखिन्छ।
नक्कली कागजातको विषयमा एमसीए–नेपालले आफ्नो सामाजिक सञ्जाल मार्फत खण्डन प्रस्तुत गरिसक्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेपछि कारबाहीका लागि पत्राचार गरिएको कार्यकारी निर्देशक विष्टले जानकारी दिए।
“उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोलकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको जानकारी गराउन चाहन्छ,” एमसीए–नेपालको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिप्रति एमसीए–नेपाल गम्भीर भत्र्सना गर्नुका साथै त्यस्ता सूचना प्रदूषणप्रति सजग रहनुहुन आदरणीय जनसमुदायलाई हार्दिक अनुरोध गर्न चाहन्छ।”
यसैबीच, लेखक तथा पत्रकार कनकमणि दीक्षितले फर्जी सूचनामा आफ्नो नाम समेत जोडिएपछि दोषीलाई कारबाहीको माग गर्दै प्रहरीको साइबर क्राइम ब्यूरोमा उजुरी दिएका छन्। उनले सोमबार भोटाहिटीस्थित ब्यूरो कार्यालयमा गएर उजुरी दर्ता गरेका हुन्।