एमाले विधान अधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव
नेकपा (एमाले)को विधान अधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरिएको छ।
शनिबार बिहान ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिसम्बन्धी प्रस्ताव पेश गरिएको हो। प्रस्तावमा तीन हजार प्रतिनिधि सहभागी गराउने व्यवस्था गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
स्थायी कमिटी बैठकमा विधान अधिवेशनका प्रतिनिधि, अधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक प्रतिवेदन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको छ। सबैभन्दा पहिले विधान अधिवेशनका प्रतिनिधि सम्बन्धी प्रस्तावमा छलफल भएकाे भट्टराईले बताए।
“यसअघि राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरू नै विधान अधिवेशनमा सहभागी हुने गरेका थिए, अहिले त्यो छैन,” भट्टराईले भने, “अब केन्द्रीय कमिटी सदस्य, विभागका सदस्य, प्रदेश, जिल्ला र विशेष कमिटीका सदस्य, सघं र प्रदेश सभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि सहभागी हुने प्रस्ताव गरिएको छ।”
बिहान ९ बजे बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजै अपराह्न ३ बजे फेरि स्थायी कमिटी बैठक बस्ने र त्यसमा विस्तृत छलफल हुने भट्टराईले जानकारी दिए।