विश्वव्यापी काेराेनाभाइरस महामारी

५७८८५०३

हालसम्म संक्रमित

२४९७३७५

निको भएका

३५७४१३

मृत्यु हुनेको संख्या

नेपाल

८८६

जम्मा संक्रमित

१८३

निको भएको

मृत्यु

अपडेटः बिहीबार, १५ जेठ २०७७ । ७ः०० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार बुधबार, जेठ १, २०७६

दार्चुला सदरमुकाममा पुग्यो राष्ट्रिय प्रसारण लाइन, अब खलंगामा नेपालकै बिजुली

हिमालखबर

दार्चुला सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजबाट सञ्चालनमा ल्याएको हो ।

अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्‍याइ आफ्नै उत्पादनबाट विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताएका छन् ।

“पहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेको छ,” घिसिङले भने, “आवश्यक परेको बेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।”

प्राधिकरणले खलंगामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो ।

प्राधिकरणले विद्युत् आयात गरेवापत् उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक करीब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करीब ८ हजार ग्राहक छन् ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्जुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सब–स्टेसनको काम असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिए ।

“अहिले बलाँच–खलंगा लाइन ३३ केभीकै बनेको भए पनि सब–स्टेसनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै प्रयोग गरेका छौं”, उनले भने– “सब–स्टेसनको निर्माण सकिए पछि लाइन पनि ३३ केभीबाटै खलंगा क्षेत्रमा विद्युत् आपूर्ति गर्ने छौं ।”

उक्त आयोजना नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको हो ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२ चैतमा ठेक्का सम्झौता गरिएको थियो ।

प्रसारण लाइनको लम्बाई २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भू–बनोट लगायतले निर्माणमा केही ढिलाइ भएको कर्णले बताए ।

सब–स्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयाँमा २०७३ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सब–स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ ।

चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सब–स्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्य चमेलिया, ६५ मेगावाटको कलंगा गाड र २५ मेगावाटको छत्तिगाड आयोजना जोडिने छन् ।

त्यहाँ जोडिएको विद्युत चमेलियाले नै बनाएको १३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ ।

 

प्रतिकृया दिनुहोस