मेलम्ची बाढी : हेलम्बु र मेलम्चीमा ६० घरटहरा बगे, पुल जोखिममा
मेलम्ची नदीमा आएको बाढीले सोमबार बिहानसम्म ६० घर तथा टहरा बगाएको छ।
हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। उनका अनुसार, १ असारमा आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो। ती सबै घर खाली थिए।
बाढीले कटान गरेकाले चनौटे, ग्याल्थुम र ढुङ्गेर बजार जोखिममा छन्। हेलम्बु गाउँपालिका-४ को ढुङ्गेर बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीय बासिन्दाका घरबाट सरसामान सार्न सहयोग गरिरहेका छन्। जोखिम कायमै रहेकाले सजग रहन सबैलाई सचेत गरिएको उनले बताए।
मेलम्ची चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो।
बाढीले मेलम्ची नगरपालिका-१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने बाहुनेपाटी पुल जोखिममा परेको छ। यसअघि १ असारको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ।
त्यस्तै, बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ। साथै, एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ।
हेलम्बु-२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं. १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ। (रासस)