एमालेका स्थानीय कमिटीको अधिवेशन असोज दोस्रो साता
नेकपा (एमाले)को स्थानीय निकायका कमिटीको अधिवेशन असोज दोस्रो साता हुने भएको छ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असोज दोस्रो साता देशभरका स्थानीय निकायका कमिटीको अधिवेशन गर्ने निर्णय हो। त्यसअघि असोज पहिलो साता वडा अधिवेशन गर्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
एमाले स्थायी कमिटीका निर्णयबारे जानकारी दिन प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आगामी असोजको पहिलो साता देशका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ।”
त्यसअघि भदौमा विधान महाधिवेशन हुने भएको छ। स्थायी कमिटी बैठकले २७ र २८ भदौमा काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जनाएका छन्।
त्यसका लागि चार वटा कार्यदल पनि गठन गरिएको छ। विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
यससँगै संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको छ। चारै कार्यदलले तयार गर्ने प्रस्तावलाई अन्तिम रूप दिन र यस सम्बन्धी थप आवश्यक निर्णय गर्न २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।
त्यस्तै, एमाले स्थायी कमिटी बैठकले दार्चुलामा तुइन चुँडाउने घटनाको छानबिन गर्न माग गरेको छ। भारतीय सुरक्षाकर्मीले तुइन चुँडाएपछि जयसिंह धामी महाकाली नदीमा खसेको स्थानीय बासिन्दाले बताउँदै आएका छन्। उनको अवस्था अझै अज्ञात छ।
यस घटनाको छानबिन गर्न, यसमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ।