विवाद टुंग्याउन केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको निर्णय
नेकपा (एमाले) स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ।
आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए। उनका अनुसार, आन्तरिक विवाद टुंग्याएर अगाडि बढ्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिएको हो।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महासचिव पोखरेलले आन्तरिक विवाद मिलाउन दुई अध्यक्ष नबनाइने बताए। “पार्टीमा दुई-तीन वटा अध्यक्ष हुन सक्दैनन्। विधान अनुसार एकभन्दा बढी अध्यक्ष हुन सक्दैन,” पोखरेलले भने।
यसअघि गठन गरिएको एमाले कार्यदलका सदस्यहरूले दुई अध्यक्ष बनाएर भए पनि सहमति गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि उनीहरूले छलफल चलाइरहेका छन्।
एमाले स्थायी कमिटी बैठक सोमबार पनि बस्ने भएको छ। अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमै बैठक बस्ने महासचिव पोखरेलले जानकारी दिए।