शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ७५ लाख पुरस्कार
शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि वृद्धि गरिएको छ। अब विजेता टीमले रु.७५ लाख नगद पुरस्कार पाउने भएको छ।
आइतबार अखिल नेपाल फूटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच भएको छलफलमा पुरस्कारको राशी वृद्धि गरिएको जानकारी दिइएको हो। यसअघि रु.५० लाख रहेको पुरस्कार बढाएर रु.७५ लाख पुर्याइएको एन्फाले जनाएको छ।
त्यस्तै, उपविजेता टीमले रु.५० लाख र तेस्रो हुने टीमले रु.२५ लाख नगद पुरस्कार पाउनेछन्। यससँगै प्रतियोगिताको तयारीका लागि प्रत्येक क्लबलाई रु.२० लाख प्रदान गरिने भएको छ।
आज भएको छलफलपछि ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट सञ्चालन गर्ने तय भएको छ। यसअघि ३ असोजबाट गर्ने तयारी गरिएकाे थियो। असोज तेस्रो साता नेपालमा साफ च्याम्पियनशिप हुने भएपछि ‘ए’ डिभिजन लिग सारिएको हो।
‘ए’ डिभिजन लिग सकिएपछि ‘बी’ डिभिजन लिग गर्ने सहमति भएको एन्फाले जनाएको छ। छलफलमा एन्फा महासचिव इन्द्रमान तुलाधर लगायत एन्फा पदाधिकारी र क्लब पदाधिकारी सहभागी थिए।