अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी
सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेसँगै उनको ठाउँमा मरासिनीलाई ल्याइएको हो। मरासिनी अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयमा महालेखा नियन्त्रकका रूपमा कार्यरत थिए।
मरासिनीको अर्थ मन्त्रालयको बजेट, योजना निर्माण तथा वैदेशिक सहायता समन्वय क्षेत्रमा लामो अनुभव छ। मरासिनीले मन्त्रालयमा सरुवा भएको चिठी आजै पाएको बताए।
अर्थ मन्त्रालयका सचिव ढुंगाना यसभन्दा अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासिला मानिएका थिए। सरकार परिवर्तनपछि ढुंगाना आफैंले नयाँ अर्थमन्त्रीसँग काम गर्न सहज नहुन सक्ने सम्भावनाका कारण अर्थ मन्त्रालयबाट सरुवा हुन खोजेको स्रोत बताउँछ। उनको आगामी माघ महीनामा नेपाल सरकारको सचिवका रूपमा अवकाश हुनेछ।