लुम्बिनी प्रदेशका जसपाका तीन सांसद पदमुक्त
लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टी (जसपा)का तीन सांसद पदमुक्त भएका छन्।
शुक्रबार प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको छ। जसपा केन्द्रीय कार्यालयको निर्णय अनुसार, तीनै जना पद मुक्त भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “निजहरूलाई निष्कासन गरेको जानकारीको व्यहोरा कार्यान्वयनका लागि अनुरोध छ भन्ने व्यहोराको सूचना प्राप्त हुन आएकोमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभाको बैठक चालू नरहेकाले माननीय सभामुखज्यूले यो सूचनापत्र सचिवालयको सूचना पार्टीमा टाँस्न लगाउनुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”
उनीहरू तीनै जना मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्। जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो।
पार्टीको निर्देशन नमानेको र प्रदेश सभामा पनि ह्वीप नमानेको जनाउँदै जसपाले कारबाही गरेको थियो। त्यसको पत्र प्रदेश सभालाई पठाएको थियो।
जसपा केन्द्रीय कमिटीले गरेको कारबाहीको आधारमा प्रदेश सभाले पनि उनीहरू पदमुक्त भएको घोषणा गरेको हो।
यसअघि पनि उनीहरूलाई कारबाही गरिएको थियो। तर, सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो। त्यतिवेला जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव थिए।
अहिले भने निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको छ। त्यसकै आधारमा तीनै जनालाई कारबाही गरिएको हो।