जसपाको आधिकारिकता यादव पक्षलाई दिने निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
शुक्रबार निर्वाचन आयोग र जसपा अध्यक्ष यादवलाई विपक्षी बनाएर ठाकुरले निवेदन दिएका हुन्। निवेदनमा जसपाको आधिकारिकता यादवलाई दिने आयोगको निर्णय बदर गर्न माग गरेका छन्।
यससँगै निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको पनि माग गरेका छन्।
११ साउनमा आयोगको इजलासले यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय गरेको थियो। त्यसका लागि आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गरेको थियो। यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए।
ठाकुरले दिएको निवेदन सर्वोच्चमा दर्ता भएको छ। उनकाे निवेदनमाथि आइतबार पेशी तोकिएको छ।