माओवादीका चार पूर्वसांसदका वकील एकैपटक बिरामी!
नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार जना पूर्वसांसदले दिएको निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।
पूर्वसांसदहरू प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टले आफूहरूमाथि भएको कारबाही बदर गर्न माग गर्दै निवेदन दिएका थिए। उनीहरूका वकीलले आफूहरू बिरामी परेको भन्दै निवेदन दिएपछि आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको सुनुवाइ स्थगित भएको हो।
सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले सांसदका वकीलहरूले आफूहरूलाई ज्वरो आएकाले काबु बाहिरको परिस्थिति आइपरेको भन्दै निवेदन दिएकाले सुनुवाइ स्थगित भएको बताए।
मुद्दाका कुनै पक्षका कानून व्यवसायीले अदालतमा उपस्थित भएर बहस/पैरवी गर्न नसक्ने अवस्था आएमा बढीमा दुई पटकसम्म सुनुवाइ स्थगित गराउन पाउँछन्। कानून व्यवसायीलाई दिइएको यस्तो सहुलियतको दुरुपयोग समेत हुँदै आएको छ। कानून व्यवसायीले इजलासमा संलग्न न्यायाधीश हेरेर पनि सुनुवाइ स्थगित गराउँदै आएका छन्।
सांसदहरू रायमाझी, चौधरी र भट्टका तर्फबाट अधिवक्ता रामबहादुर शाहले र सांसद साहका तर्फबाट अधिवक्ता सुरेश महतोले आफूहरू बिरामी परेको भन्दै निवेदन दिएपछि सुनुवाइ स्थगित गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्रराज ढकालले बताए।
सांसद साहका वारेश समेत रहेका अधिवक्ता वीरेन्द्रप्रसाद साहले भने स्थगित गर्नुको फरक कारण उल्लेख गरे। उनले भने, “हामीहरू सर्वोेच्च अदालतमै छौं। धेरै वकील साथीहरूले बहस गर्न चाहनुभएको छ। आज उहाँहरू अरू मुद्दामा व्यस्त हुनुहुँदो रहेछ। त्यसैले आइतबार दिनभर बहस गर्ने उद्देश्यले स्थगित गरेका हौं।”
आफूले चाहेका न्यायाधीशको इजलासमा पेशी नपरेमा, आफू अन्य मुद्दा वा अदालतमा बहस गर्नुपर्ने भएमा जस्ता कारणले वकीलहरूले मुद्दा स्थगित गराउँछन्। तर, निवेदनमा यस्ता कारण उल्लेख गरेमा अदालतले सुनुवाइ स्थगित गर्न अस्वीकार गर्नसक्ने भएकाले सबैजसो वकीलहरूले आफू बिरामी परेको भन्दै सुनुवाइ स्थगित गर्ने गर्छन्।
सांसद पद पुनर्बहाली गर्न माग गर्दै चारै जना १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। १४ साउनमा तोकिएको पेशी पनि हेर्न नभ्याउँदा स्थगित भएको थियो।