ललितपुर महानगरमा आजबाट ४५ वर्षमाथिका नागरिकलाई खोप
ललितपुर महानगरपालिकामा आजबाट ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ।
आजबाट तीन दिन खोप लगाइने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाएका छन्। महानगरले सूचना प्रकाशित गरी ४५ र त्योभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने जनाएको छ।
चीनबाट ल्याइएको कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने भएको हो। यसका लागि महानगरका सबै वडामा खोप केन्द्र तोकिएका छन्। आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन महानगरले अनुरोध गरेको छ।
खोप लगाउन नागरिकता तथा अन्य परिचय खुल्ने कागजपत्र अनिवार्य रूपमा बोक्न पनि महानगरले आग्रह गरेको छ।
काठमाडौं महानगरपालिकाले १४ साउनदेखि खोप लगाउन थालेको छ। काठमाडौंले भने ५० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउन थालेको हो।
ललितपुर महानगरले १८ साउनमा जोन्सन एन्ड जोन्सनको खोप पनि लगाउने भएकाे छ। यसकाे तालिका पछि प्रकाशन गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जनाएका छन्।