सरकारमा जाँदैनौं, विपक्षमा बस्छौं : लक्ष्मणलाल कर्ण
जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले सरकारमा नजाने बताएका छन्।
निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि छलफलमा जुटेको महन्थ ठाकुर पक्षका नेता कर्णले विपक्षमै बस्ने बताए। “हामीले समर्थन दिएका हौं, सरकारमा जाँदैनौं। विपक्षमा बस्छौं,” कर्णले सञ्चारकर्मीसँग भने।
जसपा अध्यक्ष यादव पक्षले भने सरकारमा जाने निर्णय गरिसकेको छ। आज बसिरहेको केन्द्रीय कार्यकारिणी समितिले यस सम्बन्धी थप निर्णय गर्ने जनाएको छ।
निर्वाचन आयोगको निर्णयपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेता कर्णले बताए। “अहिले त निर्वाचन आयोगले पार्टी फुटाइदिएको छ। अब अगाडि कसरी बढ्ने भन्ने छलफल गर्दै छौं,” उनले भने।
निर्वाचन आयोगले गरेको निर्णयको कागजपत्र आएपछि थप अध्ययन गरेर अघि बढ्ने उनको भनाइ छ। अहिले ठाकुर पक्ष छलफलमा जुटेको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना यादवको पक्षमा र १६ जना ठाकुरको पक्षमा लागेका छन्। त्यस्तै, ३४ सांसदमध्ये २० जना यादवको पक्षमा र १४ जना ठाकुरको पक्षमा देखिएका छन्।