मन्त्री छान्न पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ।
माओवादीका तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीको छनोट गर्न स्थायी कमिटी बैठक बसेको जनाएको छ। आजको स्थायी कमिटी बैठकमा मन्त्री चयनका विषयमा छलफल हुन लागेको माओवादी स्थायी कमिटीका एक सदस्यले बताए।
अहिले माओवादीका तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी छन्। माओवादीको भागमा कम्तीमा थप चार जना मन्त्री परेका छन्। त्यसका लागि थुप्रै सांसदले इच्छा जनाएका छन्।
केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री चयनका लागि सकस भएको बताएका थिए। उनले सबै सांसद मन्त्रीका लागि आकांक्षी भएकाले आफू तनावमा रहेको बताएका थिए।
कसलाई सरकारमा पठाउने भन्ने विषयमा अध्यक्ष दाहालले स्थायी कमिटीबाटै निर्णय गर्न खोजेको ती नेताले बताए। सोही अनुसार, पेरिसडाँडामा स्थायी कमिटी बैठक शुरू भएको हो।
माओवादी स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। दुवै जनासँग पनि मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको जनाइएको छ।
यससँगै सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुने जनाइएको छ।