स्वास्थ्य मन्त्रालयले प्रदेशहरूलाई भन्यो- तेस्रो लहर आउनसक्छ, एक हजार अक्सिजन सिलिन्डर भरेर राख्नू
कोभिड-१९ को तेस्रो लहर आउनसक्ने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य मन्त्रालयलाई कम्तीमा एक–एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न परिपत्र गरेको छ।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सोमबार सातै प्रदेशका स्वास्थ्य तथा जनसंख्या र सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ। महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि पठाएको पत्रमा कोरोनाभाइरसको तेस्रो लहर आउनसक्ने उल्लेख छ।
पत्रमा भनिएको छ, “जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाको बावजूद कोभिड-१९ को संक्रमण दरमा कमी आएको देखिँदैन। विगतका दिनहरूमा जस्तै संक्रमणको दर तीव्र रूपमा बढ्न गई कोभिड-१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन।”
त्यसका लागि अहिले नै अक्सिजन सिलिन्डर व्यवस्था गर्न सचेत गराएको हो। पत्रमा भनिएको छ, “भविष्यमा आउनसक्ने सम्भावित चुनौतीलाई सामना गर्न त्यहाँ कम्तीमा एक हजार वटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशनानुसार जानकारी गराइन्छ।”
यससँगै अक्सिजन सिलिन्डर खाली अवस्थामा नराख्न पनि जानकारी गराइएको छ। “मौजुदा सिलिन्डरहरू पनि खाली नराख्नुहुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटर चालू र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ।”