रेशम चौधरीले भने- न्याय देऊ, क्षमा चाहिँदैन
डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी जसपाको कुनै पनि पक्षमा उभिएनन्। सनाखतमा हस्ताक्षर नगरी फर्किएका चौधरीले आफूलाई क्षमा नभई न्याय दिन आग्रह गरे।
जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको थियो। अन्तिममा कडा सुरक्षाबीच निर्वाचन आयोग पुगेका चौधरीले आफू तटस्थ बसेको बताए।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै बराबर रहेको जनाउँदै जसपा एकताका लागि तटस्थ बसेको उनले बताए। “आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष–विपक्षमा सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन,” चौधरीले भने।
उनले अध्यक्ष ठाकुरलाई श्रद्धा र सम्मान गर्ने बताए। दुवै अध्यक्षसँग छलफल गरे पनि उनले दुवै पक्षमा हस्ताक्षर गर्न मन नलागेको बताए।
“म पार्टीको बफादार सिपाही हुँ, इमानदार कार्यकर्ता हुँ,” चौधरीले भने, “हामी मिल्नुपर्छ, एक हुनुपर्छ। मेरा लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो।”
चौधरीले आफूले न्याय पाउनुपर्ने बताए। राजनीतिक मुद्दाका कारण जेलमा बसिरहेको बताउँदै उनले आफूले क्षमा नभएर न्याय खोजिरहेको बताए। चौधरीले भने, “हामीलाई क्षमा होइन, न्याय चाहिएको छ।”
न्यायका लागि लडिरहेको बताउँदै चौधरीले आफ्नो भनाइ गजलका पंक्ति मार्फत राखे। “कठघरामा उभिएर जति सत्य बके पनि, न्याय पाऊँ हजुर भन्दै सयौं पटक झुके पनि। निरीह ठान्दा रैछन् शिर निहुराएपछि, दोषी ठहराउँदा रैछन् चुप लागेर बसेपछि,” चौधरीले थपे, “श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन, दोषीलाई दण्ड देऊ, तर निर्दोषलाई थुन्न पाइँदैन।”
जसपाका सबै केन्द्रीय कार्यकारिणी समिति सदस्यले सनाखत गरेका छन्। अब आयोगको इजलासले जसपाको आधिकारिकता विवादबारे फैसला सुनाउनेछ।