राजकिशोर यादवले गरे उपेन्द्र यादव पक्षमै हस्ताक्षर
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षका नेता राजकिशोर यादव अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका छन्।
सोमबार निर्वाचन आयोगमा पुगेर उनले अध्यक्ष यादव पक्षमै हस्ताक्षर गरेका छन्। निर्वाचन आयोगले जसपा आधिकारिकता विवाद टुंग्याउन केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको थियो।
दुवै पक्षहरूका लागि आयोगले छुट्टाछुट्टै ठाउँमा हस्ताक्षर गर्ने व्यवस्था गरेको छ। उनले यादव पक्षका लागि व्यवस्था गरिएको ठाउँमा गएर हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर गर्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “म एकताको पक्षमा छु, जसपाको मूलधारसँग छु।” उनले यादव पक्ष जसपाको मूलधार भएको जिकिर गरेका छन्। यसअघि उनी अध्यक्ष ठाकुर पक्षमा थिए।
निर्वाचन आयोगको इजलासले आज दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्दै छ। सनाखत सकिएपछि आयोगको इजलासले फैसला सुनाउने भएको छ।