जसपाका दुवै पक्ष निर्वाचन आयोगमा
जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमा सनाखतका लागि दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचन आयोग पुगेका छन्।
जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्य आयोग पुगेका हुन्। दुवै पक्षलाई सनाखतका लागि नागरिकता सहित उपस्थित हुन आयोगको इजलासले आदेश दिएको थियो।
जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुरको पक्षमा १९ र यादवको पक्षमा ३२ जना देखिएका छन्। तर, दुवै पक्षले आफूसँग बहुमत सदस्य रहेको भन्दै आयोगमा आधिकारिकताका लागि दाबी गरेका थिए।
दुवै पक्षले गरेको दाबी अनुसार सनाखत गर्न आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएको हो। नागरिकता बोकेर दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्य आयोग पुगेका छन्।
उनीहरूको सनाखत गरेपछि आयोगको इजलासले फैसला गर्नेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलासले एक सातादेखि सुनुवाइ गरिरहेको छ।