१० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता जोगाउनुपर्नेमा एमाले सांसदको जोड
नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले २७ असारमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
आइतबार सहमतिका बुँदा तयार गर्ने कार्यदलका सदस्यसँग सिंहदरबारमा छलफल गर्दै सांसदहरूले १० बुँदे कार्यान्वयनमा जोड दिएका हुन्। सांसद र कार्यदलका सदस्यहरूले पार्टी एकतालाई जोगाएर १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएको छलफलमा सहभागी सांसद एवं एमाले पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले बताए।
एमालेद्वारा गठित विवाद समाधान कार्यदलले २७ असारमा पार्टी एकताका लागि १० बुँदे सहमति गरे पनि नेपालले त्यसलाई स्वीकार गरेका छैनन्। नेपाल पक्षबाट कार्यदलमा सहभागी भएका भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले सहमति कार्यान्वयन गरेर जानुको विकल्प नभएको जनाउँदै पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने विचार राखेका थिए।
आजको छलफलमा एमाले सचिव एवम सांसद योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, झपट रावल लगायतका सांसदले १० बुँदे सहमतिलाई अक्षरश: पालना गर्दै पार्टी एकतालाई कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
एमाले विभाजनको सँघारमा पुगेका वेला दुवै पक्षका सांसद तथा विघटित कार्यदलका सदस्यहरू पार्टी एकता जोगाउन कसरत गरिरहेका छन्।