सरकारी चिकित्सकहरु देशब्यापी आन्दोलनमा, इमर्जेन्सी बाहेकका सेवा बन्द हुने
अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै सरकारी चिकित्सक संघ (गोडान) ले देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।
डा केसीले अनशन शुरु गरेको १९ औं दिन पुगिसकेको र उनको मुटुको चाल बिग्रिएको भन्दै गोडानले यस्तो अवस्थामा आफूहरु चुप लागेर नियमित विरामी जाँचिरहन सम्भव नहुने जनाएको छ ।
सरकारी चिकित्सक संघ (गोडान) ले जारी गरेको विज्ञप्तिमा भोलि, १७ मंसीरदेखि दुई दिनसम्म देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवाबाहेकका सेवा बन्द रहने बताएको छ ।
गोडानले आफ्ना समपूर्ण सदस्यहरु र अस्पतालका कर्मचारीहरुलाई अस्पतालहरुका प्रांगणमा भेलाभई हातमा कालो पट्टी बाँधेर डा केसीको जीवन रक्षाको माग गर्न आग्रह गरेको छ ।
दुई दिनभित्र पनि डा केसीको अनशन टुंगिने अवस्था नआए थप सशक्त कदम चाल्ने गोडानले चेतावनी दिएको छ ।