फूटबल प्रशिक्षक अब्दुल्लाहको राजीनामा दिने घोषणा
राष्ट्रिय फूटबल टोलीका मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबूक मार्फत मुख्य प्रशिक्षक अब्दुल्लाहले राजीनामा दिने घोषणा गरेका हुन्। उनले अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जनाएका छन्।
प्रशिक्षक अब्दुल्लाहले भनेका छन्, “डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदै छु। र, मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरा बारे नाटक गरेका छन्।”
उनले फेसबूक स्टाटसमा वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई पनि मेन्सन गरेका छन्।
उनी गत चैतमा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। कुवेतका अब्दुल्लाह एन्फाको टेक्निकल कमिटीको सिफारिशमा प्रशिक्षक नियुक्त भएका थिए।