क्रियाशील सदस्यता विवादले कांग्रेसको वडा अधिवेशन स्थगित
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद नटुंगिँदा वडा अधिवेशन स्थगित गरिएको छ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। तत्कालका लागि वडा अधिवेशन स्थगित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १२ साउनमा गाउँ तथा नगरको वडा अधिवेशन तोकिएको थियो। अहिलेसम्म क्रियाशील विवाद नसुल्झिएपछि अधिवेशन स्थगित गर्नुपरेको प्रवक्ता शर्माले बताए।
अब क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा छानबिन प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने भएको छ। त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मिति तोकिने भएको छ। यसअघि ३० असारमा प्रतिवेदन बुझाउने मिति तय गरिएको थियो।
छानबिन समितिले प्रतिवेदन बुझाएपछि पार्टी सभापतिले हस्ताक्षर गरेर निर्वाचन समितिलाई बुझाउनेछन्। त्यसपछि मात्रै वडाबाट अधिवेशन शुरू हुनेछ।
केही जिल्लाको विवादका कारण काम सम्पन्न हुन नसकेको छानबिन समितिका संयोजक रमेश लेखकले शनिबारको पदाधिकारी बैठकमा जानकारी दिएका थिए। त्यही अनुसार, पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्क्योल गरेको हो।
यसअघि ४ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशन १६-१९ भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो। त्यस अनुसार, वडादेखि प्रदेशसम्मका अधिवेशनको कार्यतालिका संशोधन गरेको थियो।
त्यस कार्यतालिका अनुसार, गाउँ तथा नगरका वडाको अधिवशेन १२ साउनमा, गाउँ तथा नगर अधिवेशन १६ साउनमा गर्ने तय गरिएको थियो। त्यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउनमा तोकिएको थियो।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन २३ साउनमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा गर्ने कार्यतालिका थियो। यससँगै प्रदेश अधिवेशन १ र २ भदौमा गर्ने तय गरिएको थियो।
वडा अधिवेशन स्थगित भएसँगै अब गाउँ, नगर, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन पनि प्रभावित हुने भएका छन्। जसले गर्दा महाधिवेशन पनि प्रभावित हुनसक्ने जनाइएको छ। कांग्रेस नेतृत्वले भने अन्य अधिवेशन तलमाथि भए पनि महाधिवेशन भने तोकिएकै समयमा गर्ने जनाएको छ।