ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिए कल्पना र सोनिया
जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिकमा नेपाली खेलाडी कल्पना परियार र सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिएका छन्। कल्पनाले भने राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
शनिबार बिहान भएको खेलमा कल्पनाले महिला १० मिटर एअर राइफल स्पर्धामा ६१६.८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान कामय गरेकी हुन्। उनले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र छैटौँ सिरिजमा १००.७ अङ्क जोडिन्।
उनले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४.५ अङ्क बनाएकी थिइन्। उनी टोकियो ओलम्पिकको छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएकी छिन्।
यो स्पर्धामा पहिलो हुने नर्वेकी खेलाडीले ६३२.९ अंक जोडेकी थिइन्। त्यस्तै, कोरियन खेलाडी ६३१.७ अङ्क सहित दोस्रो र अमेरिकी खेलाडी ६३१.४ अङ्कका साथ तेस्रो भए।
त्यस्तै, जुडो खेलाडी सोनिया महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भइन्। जुडोको विश्व वरीयतामा नेपालकी १९ वर्षीया सोनिया १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व वरीयताको नवौँ स्थानमा रहेकी छन्।
उनी वाइल्ड कार्ड मार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन्। उनले २०७६ मंसिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन्।
अब टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। गौरिकाले महिला १०० मिटर फ्री स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्री स्टाइल र सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।