कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी
नेपाली कांग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए। दुवै प्रतिवेदनमाथि छलफल पश्चात् शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिनसक्ने उनले बताए।
कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि ३० असारसम्म तोकेको थियो। केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ।
कांग्रेसको ४ असारमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो। संशोधित कार्यतालिका अनुसार, गाउँ–नगर वडा अधिवेशन १२ साउनमा, गाउँ–नगरपालिका अधिवेशन १६ साउनमा र प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउनमा गर्ने तय गरिएको छ।
यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनमा, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनमा र प्रदेश अधिवेशन १ र २ भदौमा निर्धारण गरिएको छ।