ओली बाहेकका शीर्ष कम्युनिष्ट नेता एउटै मञ्चमा प्रवचन दिँदै
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बाहेकका शीर्ष कम्युनिष्ट नेताहरूले शुक्रबार एउटै मञ्चमा प्रवचन दिन लागेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू सहभागी हुन लागेका छन्। केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार, ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागिएको छ।
केन्द्रले आयोजना गर्ने ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिष्ट नेता सहभागी हुनेछन्।
कार्यक्रममा नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव नेक्रविक्रम चन्द प्रवचन दिनेछन्।
त्यस्तै, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पनि प्रवचन दिने कार्यक्रम रहेको खतिवडाले जानकारी दिए। यसमा एमाले अध्यक्ष ओलीलाई भने बोलाइएको छैन।