गल्ती सच्याएर आएमा नेपाल पक्षलाई ‘क्षमा’ गर्न सकिने एमालेको निष्कर्ष
नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले गल्ती सच्याएर आएमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई क्षमा गर्न सकिने निष्कर्ष निकालेको छ।
तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सच्चिएर आएमा नेपाल पक्षलाई स्वागत गर्न सकिने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बैठकमा त्यही अनुसारको धारणा राखेको उनले बताए।
प्रवक्ता ज्ञवालीले भने, “अध्यक्षज्यूले पनि पार्टीलाई र आन्दोलनलाई बलियो बनाउने गरी आउने हो भने विगतका क्रियाकलापलाई क्षमा गर्न सकिने, बिर्सिन सकिने धारणा राख्नुभएको छ।”
नेपाल पक्षमा रहेका नेताहरूलाई पार्टीमा आउनका लागि अपील पनि गरिएको प्रवक्ता ज्ञवालीले बताए। ज्ञवालीले भने, “एकताका लागि प्रयास जारी राख्ने र बाटो बिराएका, पार्टीको अहित हुने गरी गतिविधिमा संलग्न भएका साथीहरूलाई कमी–कमजोरी सच्याएर आउनका निम्ति अपील गर्दै आजको बैठक सकिएको छ।”
एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयासलाई थप निरन्तरता दिने निर्णय गरेको छ। अहिले भइरहेका प्रयास सकारात्मक रहेको जनाउँदै ज्ञवालीले भने, “पार्टी एकताका प्रयासलाई अझ थप निरन्तरता दिने, सबै साथीलाई समेट्ने मामलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेका छौं।”
एकताका लागि छलफल चलिरहेकाले थप निर्णय नगरिएको उनले बताए। वरिष्ठ नेता नेपालसहित २२ जना सांसदको स्पष्टीकरण आउने क्रम चलिरहेको उनले बताए। “एकताका लागि छलफल चलिरहेको छ, अहिले संक्रमणमा जस्तै छौं। त्यसैले कारबाही गर्ने लगायतका विषयमा थप निर्णय गरिएको छैन,” एमाले प्रवक्ता ज्ञवालीले भने।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका थिए। उनीहरूलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो। तर, एकताको प्रयास भइरहेकाले थप कारबाहीको प्रक्रिया भने अघि नबढाएको जनाइएको छ।
यससँगै एमाले केन्द्रीय कमिटी बैठकले जनतासँगको सम्बन्ध सुदृढ गर्दै लग्ने निर्णय गरेको छ। त्यसका लागि अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको ज्ञवालीले बताए।
अध्यक्ष ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै प्रवक्ता ज्ञवालीले भने, “जनताको नजरमा आदर्श बनेर काम गर्न, जनताले विश्वास गर्ने, भरोसा गर्ने नेतृत्वको रूपमा स्थापित हुन, जनताबाट आलोचना हुने कुनै पनि किसिमका गतिविधि नगर्न उहाँले निर्देशित गर्नुभएको छ।”
तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सकिएको छ। बैठकमा वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी भएका थिएनन्।