कांग्रेसका औपचारिक कार्यक्रम बालुवाटारमा हुँदैनन् : महामन्त्री खड्का
नेपाली कांग्रेसका औपचारिक कार्यक्रम अबदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नहुने महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन्।
पार्टीका कार्यक्रम बालुवाटारमा गर्ने गलत परम्परा भएको खड्काले जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिँदै भनेका छन्, “विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीका औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने।”
उनले यसको शुरूआत भोलिदेखि गरिने बताएका छन्। ८ साउनमा बोलाइएको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने समेत उनले जनाएका छन्।
यसअघि कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बालुवाटारमा बसेको थियो। त्यसको विरोध भएपछि कांग्रेसले बालुवाटारमा पार्टीका बैठक नगर्ने भएको उनले जनाएका छन्।