जसपाको आधिकारिकता टुंग्याउन आयोगको इजलास बस्दै
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंग्याउन निर्वाचन आयोगको इजलास बस्न लागेको छ।
जसपाको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निवेदन दिएका थिए। त्यस्तै, अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आधिकारिकता दाबी गरेका थिए।
दुवै पक्षसँगको छलफलपछि आयोगले इजलास मार्फत टुंग्याउन खोजेको हो। यसअघि ३ साउनमा दुवै पक्षले आयोगको इजलासमा बहस गरेका थिए। आज पनि बहस हुँदै छ।
आयोगले आजै आधिकारिकता सम्बन्धी आदेश दिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका एक पदाधिकारीका अनुसार, जसपाको आधिकारिकता कसलाई दिने भन्ने आजै आदेश गर्ने तयारी रहेको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। ५१ सदस्यीय कार्यकारिणी समितिमध्ये ३० सदस्यको हस्ताक्षर सहित यादव पक्षले आयोगमा निवेदन दिएको थियो।
त्यस्तै, संसदीय दलमा पनि यादव पक्षको बहुमत पुगेको छ। यसअघि यादव पक्षमा १२ र ठाकुर पक्षमा २० सांसद थिए। तर, केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै यादव पक्षको बहुमत पुगेको छ।
मंगलबार बसेको यादव पक्षको संसदीय दलको बैठकमा २० सदस्य उपस्थित थिए। ठाकुर पक्षका आठ सांसद यादव पक्षमा आएका छन्।