पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार छुः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन्।
केन्द्रीय कमिटीको ६ साउनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको माग अनुसार, दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन्।
उनले भने, “एकताका लागि हामी हदैसम्म लचिलो हुन तयार छौँ, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु।”
अध्यक्ष ओलीले कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए। उनले एकता भएमा सबै संरचना २ जेठ २०७५ कै अवस्थाबाट क्रियाशील हुने जानकारी दिए।
आफूहरू लचिलो हुँदा पनि नेपालले एकताप्रति इच्छा नदेखाएको ओलीको आरोप छ। उनले भने, “अनेक बहाना खोजिएको छ। केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्।”
ओलीले आफ्नै पार्टीको सरकारविरुद्ध संसद्मा मत हाल्नु अनैतिक, अराजनीतिक र आपराधिक भएको पनि बताएका छन्। उनले भने, “यति हुँदा पनि मैले पार्टी एकताका लागि प्रयास गरेकै छु, अन्तिमसम्म गर्छु।”