यी हुन् प्राथमिक शेयर निष्कासन गर्ने तयारीमा रहेका १८ कम्पनी
मैलुङ खोला जलविद्युत् कम्पनीले १४ साउनबाट सर्वसाधारणलाई ७ लाख ३६ हजार २८६ कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दै छ।
रसुवामा ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो।
शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार, थप तीन कम्पनी साधारण शेयर निष्कासनको अन्तिम तयारीमा छन्। सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र साम्लिङ पावर कम्पनीले साधारण शेयर बिक्री गर्न बोर्डबाट अनुमति पाइसकेका छन्।
सानिमाले २ करोड कित्ता, मानुषीले १० लाख ९३ हजार ७५० कित्ता तथा साम्लिङ पावरले ५० लाख कित्ता शेयर निष्काशन गर्नेछन्। प्रति कित्ताको मूल्य रू.१०० तोकिएको छ।
बोर्डमा थप १५ कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन्। जसमध्ये १२ जलविद्युत् कम्पनी, एक इन्स्योरेन्स कम्पनी, एक लघुवित्त र एक अन्य क्षेत्रका कम्पनी छन्। यी कम्पनीले करीब रू.५ अर्ब ५० करोड मूल्य बराबरका साधारण शेयर निष्कासन गर्नेछन्।
न्यादी जलविद्युत्, विन्ध्यवासिनी जलविद्युत्, हिमालयन हाइड्रोपावर, बलेफी जलविद्युत्, बुद्धभूमि नेपाल हाइड्रोपावर, साहस ऊर्जा र ग्रिन भेन्चर गरी सात कम्पनीको आईपीओ निष्कासनको प्रस्तावमाथि बोर्डले समीक्षा गरिरहेको छ। यसमध्ये सबैभन्दा धेरै साहस ऊर्जाले रू.१ अर्ब ५ करोडको शेयर निष्कासनको प्रस्ताव गरेको छ।
त्यसैगरी, सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रोपावर, दोर्दी खोला जलविद्युत्, अपर हेवाखोला जलविद्युत् र नेस्डो समृद्ध लघुवित्तले प्रस्ताव गरेको आईपीओ निष्कासनको प्रस्तावमाथि बोर्डले प्रारम्भिक समीक्षा गरिरहेको जनाएको छ। यी कम्पनीले रू.९९ करोड ८८ लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्नेछन्।
त्यसैगरी, डिस मिडिया नेटवर्क, ग्रिन भेन्चर जलविद्युत् र आईएमई लाइफ इन्स्योरेन्सले पनि १ करोड ४६ लाख कित्ता शेयर निष्कासनका लागि अनुमति कुरेर बसेका छन्।
गत आर्थिक वर्षमा करीब डेढ दर्जन कम्पनीले साधारण शेयर निष्कासनको अनुमति पाएका थिए। पछिल्ला वर्षमा कम्पनीहरूले जारी गर्ने प्राथमिक शेयर निष्कासनमा सर्वसाधारणको ठूलो आकर्षण देखिएको छ। मागका तुलनामा कैयौं गुणासम्म बढी आवेदन पर्दै आएको छ। बिक्री गरिने शेयरभन्दा माग धेरै भएपछि कम्पनीहरूले प्राथमिक शेयर खरीद गर्न इच्छुकमध्ये सीमित व्यक्तिलाई गोलाप्रथाका आधारमा १०–१० कित्ता शेयर बिक्री गर्दै आएका छन्।