आर्थिक पुनरुत्थानको कार्यक्रम ल्याउँछौंः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले सरकारले आर्थिक पुनरुत्थानको कार्यक्रम ल्याउने तयारी गरेको बताएका छन्।
बुधबार नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना महामारीले प्रभावित अर्थतन्त्र उकास्न विशेष राहत र पुनरुत्थानको कार्यक्रम ल्याउने बताएका हुन्।
अर्थमन्त्री शर्माले औद्योगिक क्षेत्रमा लगानी बढाएर देशलाई आत्मनिर्भर बनाउन सरकार केन्द्रित हुने बताए। उनले भने, “औद्योगिक वातावरण तयार पारेर आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन सरकारले सक्दो प्रयास गर्नेछ।”
व्यापार घाटा कम गर्न पनि औद्योगिकीकरणलाई मुख्य आधार बनाउनुपर्ने मन्त्री शर्माको भनाइ थियो। उनले साना तथा मझौला उद्योगको संख्या बढाउनुपर्ने आवश्यकता रहेको पनि बताए।