यो वर्ष १४ सचिवले अवकाश पाउने
नेपाल सरकारका विशिष्ट श्रेणीका १४ कर्मचारी (सचिव)ले यो आर्थिक वर्षमा अवकाश पाउने भएका छन्।
राष्ट्रिय किताबखाना (निजामती)ले सोमबार उमेर तथा सेवा अवधिका कारणबाट अनिवार्य अवकाश पाउने कर्मचारीको सूची सार्वजनिक गरेको हो। किताबखानाले सार्वजनिक गरेको विवरण अनुसार, चारजना सचिवले साउनभित्रै अवकाश पाउँदै छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ६ साउनमा, अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले २४ साउनमा र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मुकुन्दप्रसाद पौड्यालले २६ साउनमा अनिवार्य अवकाश पाउँदै छन्। त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले १८ साउनदेखि अवकाश पाउनेछन्।
नेपाल ट्रस्टको कार्यालयका सचिव राजेन्द्रप्रसाद खनालले ९ असोजमा र युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले १२ असोजमा अवकाश पाउँदै छन्। ५ कात्तिकमा नेपाल सरकारको सचिव सरहका उप-महालेखापरीक्षकद्वय बाबुराम गौतम र ईश्वर नेपालले पनि अवकाश पाउनेछन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल १४ पुसमा सेवानिवृत्त हुनेछन्। उच्च अदालत पाटनका सचिव राजनप्रसाद भट्टराईले ६ माघमा अवकाश पाउनेछन्।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले पनि २० माघमा सेवाबाट अवकाश पाउनेछन्। त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ४ जेठ २०७९ मा अवकाश पाउनेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले १९ जेठ २०७९ मा अवकाश पाउनेछिन्।
लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईं पनि २२ असार २०७९ मा सेवाबाट निवृत्त हुनेछन्। किताबखानाका अनुसार, यो वर्ष दुई हजार ३८४ कर्मचारीले अवकाश पाउँदै छन्।
* सम्पादित