कांग्रेस महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ प्रविधि तयार
नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ प्रविधि तयार गरिएको छ।
कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधि तयार गरिएको जनाएको छ। विभाग प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले महाधिवेशनका लागि ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप दिएको छ।
केन्द्र र सातै प्रदेशको निर्वाचन ‘डिजिटल भोटिङ’ का माध्यमबाट गर्न सकिने गरी प्रविधि तयार गरिएको विभागका सचिव दीपेश थापा मगरले जनाएका छन्। “कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रूपमै आयोजना गर्न सकिने आशाका बावजूद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो प्रविधि प्रयोग गरेर ७७ जिल्ला कार्यालयबाटै प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्नसक्ने व्यवस्था गरिएको छ। यससँगै ‘डिजिटल भोटिङ’ को जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरको नेटवर्क तयार गरिएको उनले जनाएका छन्।
आगामी महाधिवेशनमा प्रयोगका लागि यस सम्बन्धी प्रगति प्रतिवेदन कांग्रेस केन्द्रीय कार्यसमितिमा पठाउने विभागले निर्णय गरेको छ। केन्द्रको निर्देशन अनुरूप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध गरिने जनाइएको छ। कांग्रेसको प्रविधि संयोजन उपसमिति संयोजक इन्जिनियर दीपेश विष्टको टोलीले यो प्रविधि तयार गरेको हो।
यस्तै, विभागले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ। छहारी संवाद उपसमिति संयोजकमा डा. सुरेश आचार्य, वेबसाइट संयोजन उपसमिति संयोजकमा गोवर्धन राना मगर, कोभिड सूचना र विश्लेषण उपसमिति संयोजकमा डा.अञ्जनीकुमार झा, दैनिक सूचना उपसमिति संयोजकमा दिनेश थापा मगरलाई चयन गरेको छ।
यसैगरी, सामाजिक सञ्जाल समन्वय उपसमिति संयोजकमा दीपेश विष्ट, टेलिभिजन संयोजन उपसमिति संयोजकमा निर शाह, रेडियो संयोजन उपसमिति संयोजकमा गोपाल झा, तथ्याङ्क व्यवस्थापन र विश्लेषण उपसमिति संयोजकमा डा. सञ्जय महतो थारू, ‘इभेन्ट म्यानेजमेन्ट’ उपसमिति संयोजकमा मीन भाम, महिला प्रचार नेटवर्क संयोजकमा अधिवक्ता अञ्जना अर्याल र युवा प्रचार नेटवर्क संयोजकमा विकल राई चयन भएका छन्।