जसपा संसदीय दलको विधान पारित, नेता अर्को बैठकमा चयन गरिने
जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदीय दलको विधान पारित गरेकाे छ भने संसदीय दलको नेता अर्काे बैठकबाट चयन गरिने भएकाे छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान पारित गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए। संसदीय दलले पारित गरेको विधान अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय भएको छ।
पार्टीका ज्येष्ठ सांसद महेन्द्रराय यादवको अध्यक्षमा बसेको बैठकमा आएका सुझाव विधानमा समेट्ने जिम्मेवारी रामसहायप्रसाद यादव र मोहम्मद इस्तियाक राईले पाएका छन्।
विधान संघीय संसद् सचिवालयमा दर्ता भएपछि संसदीय दलको नेता चयन गरिने सांसद यादवले बताए। जसपाका अध्यक्ष महन्थ ठाकुरले यसअघि राजेन्द्र महतोलाई दलको नेता चयन गरे पनि त्यसलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले मान्यता दिएको छैन।