नेपाल पक्ष एमाले केन्द्रीय कमिटी बैठकमा नजाने
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ।
मंगलबार दिउँसाे नेपाल पक्षका नेताहरूबीच भएको छलफलमा केही माग अझै पूरा नभएकाले केन्द्रीय कमिटी बैठकमा नजाने निष्कर्ष निकालिएको छ।
नेपाल पक्षका नेता एवं एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले आजको केन्द्रीय कमिटी बैठकमा नजाने बताए। “हाम्रा केही माग पूरा भएका छैनन्। माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं,” खतिवडाले हिमालखबरसँग भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैैठक बोलाएका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
एमाले केन्द्रीय कमिटीको १०औं बैठक सोमबारबाट शुरू भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्थगित केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो।
एमाले अध्यक्ष ओलीको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म उनीहरूलाई स्पष्टीकरण सोधिएको छैन।
एमाले नेता खतिवडाले सञ्चारमाध्यममा सुनेको भए पनि आफूलाई कसैले स्पष्टीकरण नसोधेको बताए। “अहिलेसम्म कुनै पत्र आएको छैन। इमेल, मेसेजबाट पनि केही जानकारी आएको छैन,” खतिवडाले भने।
३ साउनमा प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका थिए। त्यसमा २२ जना एमाले सांसदले पनि मत दिएका थिए। जसमध्ये आठ जना अध्यक्ष ओली पक्षका थिए।