सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त जिल्ला घोषणा
बाढी र पहिरोले क्षति पुर्याएका सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। मनसुन भित्रिएयता सिन्धुपाल्चोक र मनाङमा बाढी र पहिरोको प्रकोप बढेको छ।
अहिलेसम्म बाढी र पहिरोबाट सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ भने २० जना सम्पर्कविहीन छन्। बाढी र पहिरोले ३३८ घर पूर्ण रूपमा क्षति भएका छन्।
त्यस्तै, मनाङमा बाढी र पहिरोले ५९ घरमा पूर्ण क्षति र २० घरमा आंशिक क्षति पुगेको छ। बाढीले विद्युत्गृह, सडक लगायत थुप्रै भौतिक संरचना बगाएको छ।
दुवै जिल्लामा सरकारले विशेष राहत उपलब्ध गराउने भएको छ। बाढी र पहिरोबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखेर उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता कार्कीले बताए।