नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव राखेको थिए। त्यसमाथि छलफल गर्दै केन्द्रीय कमिटीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
आइतबार प्रतिनिधि सभामा नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा विश्वासको मत दिएका थिए। एमाले स्थायी कमिटीले विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको थियो।
देउवालाई विश्वासको मत दिने २२ जनालाई सांसदबाट भने एमालेले कारबाही गर्न सक्दैन। प्रतिनिधि सभा पुनःस्थापना गरेसँगै सर्वोच्च अदालतले सांसदबाट कारबाही नगर्न आदेश दिएको थियो।
उनीहरूलाई आन्तरिक रूपमा कारबाही गर्न भने सर्वोच्च अदालतको आदेशले छेक्दैन। त्यसैले अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गर्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेका थिए। त्यही अनुसार, स्पष्टीकरण सोधिने भएको हो।
यससँगै एमाले केन्द्रीय कमिटी बैठकले कार्यदलले तयार गरेको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ। त्यही अनुसार, पार्टीलाई एकताबद्ध भएर लग्ने केन्द्रीय कमिटी बैठकको निष्कर्ष रहेको छ।
एमाले केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे फेरि बस्ने भएको छ।